Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

पाँच वर्षपछि रारा तालमा बिजुली

पाँच वर्षपछि रारा तालमा बिजुली

  • आषाढ २०, २०७९ सोमवार २०:४२ बजे
  • 123
    SHARES
  • पाँच वर्षपछि रारा तालमा बिजुली

    मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्‍याएको हो । 

    २०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत पुर्‍याउने जिम्मा पाएको थियो । सो प्रालिले समयमै काम गर्न नसकेकाले रारा क्षेत्रमा विद्युत बाल्न सकिएको थिएन ।

    अहिले प्राधिकरणले आफै लागेर ५ वर्षपछि विद्युत उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख माधवप्रसाद उपाध्यायले बताए । 

    उनका अनुसार १० वर्षदेखि थन्किएको मेसिनलाई पुनः मर्मत गरी सोही मेसिनबाट रारा क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उपाध्यायको भनाइ छ । रारा क्षेत्रमा विगतका दिनमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको थियो । 

    गमगाढ वितरण केन्द्रको जलविद्युत गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् । 

    रारा ताल परिसरमा २५ केभी क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताए ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology