Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विपद्पीडितलाई ७८ लाख बीमा रकम भुक्तानी

विपद्पीडितलाई ७८ लाख बीमा रकम भुक्तानी

  • 380
    SHARES
  • विपद्पीडितलाई ७८ लाख बीमा रकम भुक्तानी

    कर्णाली । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत कर्णालीका विपद्पीडितलाई ७८ लाख बीमा रकम उपलब्ध गराएको छ ।

    प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी-पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपदबाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हकवालालाई ७८ लाख भुक्तानी गरेको हो ।

    यहाँका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।

    ‘अहिलेसम्म हामी कहाँ आएका ५३ विपद्पीडितमध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका छन्’, उनले भने, ‘१४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरूको पनि अब छिट्टै भुक्तानी हुँदैछ ।’

    मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइल ढिला आउँदा र विपदबाट मृत्यु हुनेको संख्या थपिँदै जाँदा पीडित सबैको एकैचोटी भुक्तानी हुन नसकेको उनको भनाइ छ ।

    राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै खुल्ने कागजात आइसकेकाले सम्बन्धित हकवालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताए ।

    ८ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले जानकारी दिए । आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालु आव २०७८/७९ मा विपदबाट सबैभन्दा बढी जाजरकोटमा १७ जनाको बाढी र पहिरोबाट ज्यान गएको बताए ।

    त्यस्तै हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालिकोटमा पहिरो र भिरबाट खसेर पाँच जनाको मृत्यु भएको उनको भनाइ छ ।

    शाखा प्रमुख रोकायका अनुसार सुर्खेतमा बाढीबाट ५, जुम्लामा आगलागीबाट ४ र रुकुमपश्चिममा बाढीबाट ३, दैलेख २, डोल्पामा पहिरो, मुगुमा हिमपहिरो र सल्यानमा चट्याङबाट एक/एक जनाको मृत्यु भएको छ ।

    प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपदबाट मृत्यु भएका परिवारका लागि २ लाख र आवास बीमाअन्तर्गत ५ लाख उपलब्ध गराउने उल्लेख छ । तर आवासका बीमा हालसम्म चालु नभएको जनाइएको छ ।

    यस्तै कार्यविधिमा कर्णाली प्रदेशमा स्थायी बसोबास भएका नागरिकको हकमा देशका जुनसुकै भू-भागमा विपद्को घटनामा मृत्यु मृतकका हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ भनिएको छ ।

    नेपालको जुनसुकै स्थानमा स्थायी घर भई प्रदेशका सरकारी, गैरसरकारी संघ संस्था वा अन्य निकायमा कार्यरत व्यक्तिको समेत विपद् दुर्घटनाका कारण मृत्यु भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ ।

    कार्यविधिबमोजिम जोखिमग्रस्त क्षेत्र आवास बीमाअन्तर्गत बीमालेखले अग्नि, भूकम्प, बाढी/जलमग्न, पहिरो/जमिन धसिने वा भासिने, हावाहुरी, हिमताल तथा ज्वालामुखी बिस्फोटन, आँधीबेहरी, चट्याङ, शीतलहर, असिना र भिरबाट लडेर हुने आकस्मिक दुर्घटना जोखिमविरूद्ध सुरक्षण प्रदान गर्ने उल्लेख गरिएको छ ।

    यसअघि कोभिड-१९ बाट मृत्यु भएकालाई पनि विपद् जोखिम दुर्घटना दिने भनिए पनि अहिले भने त्यो हटाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij