Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर बन्दै

व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर बन्दै

  • 372
    SHARES
  • व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर बन्दै

    कैलाली । कैलालीको पूर्वी क्षेत्रका स्थानीयहरू व्यावसायिक बाख्रापालनमा जोडिन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका-४ की रेखा शाहीले व्यावसायिक बाख्रापालन गर्दै आएकी छिन् ।

    उनले पाँच वर्षदेखि बाख्रापालन गर्दै आएको भए पनि दुई वर्षदेखि फार्म नै दर्ता गरेर व्यावसायिकरूपमा लागेकी हुन् । घरको काममा दैनिकी बिताउँदै आएकी शाहीले यतिबेला पछाडि फर्केर हेर्नु परेको छैन् ।

    परिवारको खर्च धान्न, छोराछोरीको पढाइ खर्च अरूसँग माग्न नपरेको रेखाले बताइन् । ‘श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । मैले परिवारको रेखदेख गर्ने र बाख्रा फार्मलाई समय दिँदै आएकी छु,’ रेखाले भनिन् ।

    ‘काम नगरी पनि हुँदैन । एकदुई बाख्रा घरमा त्यसै पनि पाल्नुपर्ने हाम्रो चलन जस्तै छ । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिकरूपमा गर्नुपर्छ भन्ने आँटले आज व्यवसायमा सफल हुँदै गएकी छु ।’

    जानकी गाउँपालिका-८ की धनसरीकुमारी शाहले राहत कोटामा अध्ययन गराउँदै आएकी थिइन् । अहिले उनले शिक्षकको पेसा छोडेर व्यावसायिक बाख्रापालन गर्न लागेकी छिन् ।अरूको काम गर्नुभन्दा आफ्नो काममा निकै सहज हुने र पारिवारिक रेखदेख पनि गर्नुपर्ने हुँदा जागिर छोडेर बाख्रापालनमा लागेको धनसरीले बताइन् ।

    उनले श्रीमान सरकारी जागिरे भएको भन्दै व्यवसायबाट राम्रो आम्दानीको सम्भावना देखेपछि आफू कृषिमा लागेको उनको भनाइ छ । ‘मसँग अहिले २५ वटा बाख्रा छन् । यसलाई अझै बढाउँदै लगेकी छु । मेरो कमाईले घरको खर्च धानेको छ । श्रीमानको कमाई बचत गर्ने गरेका छौं’, धनसरीले भनिन् ।

    ‘पाँचवटा बाट सुरु गरेकी थिएँ । त्यसैबाट बढाएर यहाँसम्म पुर्‍याए । बाख्राको प्रजनन्मा सुधार भएपछि बढाउँदै लैजाने योजना बनाएकी छु ।’ राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानहरूलाई प्रजनन सुधारका लागि भन्दै बोयर बोका वितरण गरेपछि झन् खुसी भएका छन् ।

    चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कार्यान्वयन इकाइले व्यावसायिक बाख्रापालनमा लागेका २० जना किसानहरूलाई बोयर जातको बोका वितरण गरेको हो ।

    चालु आर्थिक वर्षको १० लाख बजेटबाट बीसवटा बोयर जातको बोका खरिद गरेर शत्प्रतिशत अनुदानमा किसानलाई बोका हस्तान्तरण गरिएको कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले जानकारी दिए ।

    उनले किसानको उत्पादनसँग जोडेर आयोजनाले काम गर्दै आएको बताउँदै उन्नत जातको बोकाबाट किसानहरूले बाख्राको प्रजनन सुधार गरेर उत्पादनलाई बढाउन सक्ने उद्देश्य साथ बोका वितरण गरिएको बताए ।

    ‘किसानलाई प्रत्येक्ष लाभ हुने गरी आयोजनाले किसानसँग जोडिएर काम गर्दै आएको छ । पशु र कृषिलाई साथमा लिएर अनुदानमार्फत किसानको उत्पादनलाई बढाउनका लागि समन्वय गर्दै आएको छ’, कार्यान्वयन इकाइका प्रमुख जोशीले भने ।

    ‘त्यो समन्वयलाई किसानहरूले उत्पादनसँग जोड दिन सक्नुपर्छ । त्यस्तो भएको खण्डमा मात्रै आयोजनाले किसानहरूका लागि गरेको लगानी उपयोगी भएको मान्न सक्ने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij