वेबटिभी खबर
गलकोट । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।
धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।
पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।
अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको सन्दर्भमा धवलागिरि अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्न सके धेरैको जीवनरक्षाका लागि सहज हुने धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।
पचास शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले बताए ।
अक्सिजन प्लान्ट ९० लाख ४० हजारकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ तर अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई शय्याभन्दा बाहिर ल्याउनुपर्दा, सिफारिस गरी बाहिर पठाउनुपर्दा र हवाई उद्धार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रामा भने अक्सिजनसहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ ।
आफ्नै प्लान्टको अक्सिजन भर्न नसक्दा कहिलेकाहीँ सिलिण्डरको अक्सिजन आवश्यकता हुँदा बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति छ । उक्त अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ खरिदका लागि गण्डकी प्रदेशसँग माग गरिरहेको डा पोखरेलले बताए ।
अक्सिजन भर्ने उपकरणलाई ३० देखि ५० लाख पर्ने बुझ्नमा आएको उनको भनाइ छ । अस्पतालमा प्लान्ट हुनुपूर्व अस्पतालमा निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । धवलागिरि अस्पतालमा अहिले २५ शय्याको कोरोना वार्ड रहेको छ । अस्पतालमा ११ कोराना संक्रमितको उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij