Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

छोरीको सफलताले दुःख बिर्सिएकी आमा

छोरीको सफलताले दुःख बिर्सिएकी आमा

  • 460
    SHARES
  • छोरीको सफलताले दुःख बिर्सिएकी आमा

    मनकुमारी परियार नाम जस्तै मनकारी । म्याग्दीको राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन् । उनले सोचिन अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?  

    जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन त्यसपछि छाँगाबाट खसे झैँ भइन । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन मनकुमारी । जाउ कहाँ जाउ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गरिन जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।

    त्यसपछि सुरु भयो उनको सङ्घर्षको कथा । के गरिनन् उनले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन मनकुमारीले । घिन र अल्छी मानिनन् काममा । सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो । हरेस नखाइकन निरन्तर काममा लागिन छोरीको जन्म भयो । नाम राखिन सुष्मा परियार ।

    हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन् । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।

    सुष्मा त्यसै सफल भएकी होइनन् । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था ।

    ‘दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?’ गहभरि आँसु झार्दै मनकुमारीले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिन् । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरूलाई बधाई दिएँ । आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ’, मनकुमारीले भनिन् ।

    ‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा । राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथीमाझ अब्बल सावित भएर छनोट भइहालिन्’, प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने ।

    ‘सुष्माको प्रदर्शनले हामी खुसी छौं, उनले विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ’, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताए ।

    सुष्माले अहिलेको प्रदर्शनले खुसी भएको बताइन् । ‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ,’ खुसी व्यक्त गर्दै सुष्माले भनिन् ।

    अहिले सिंगाे समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij