Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

असिनाका कारण घट्दै आलु उत्पादन

असिनाका कारण घट्दै आलु उत्पादन

  • 415
    SHARES
  • असिनाका कारण घट्दै आलु उत्पादन

    बागलुङ । काठेखोला गाउँपालिका-३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती रहेको छ । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ ।

    माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो ।

    धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उनको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उनको बालीमा ठुलो क्षति गर्‍यो ।

    केही वर्ष पहिलेसम्म उनको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उनले फसल लिन पाए ।

    ‘दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो’, छन्त्यालले भने, ‘अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।’ तुसारो र असिनाका कारण आलुमा देखिने रोगको संक्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ ।

    धम्जामा व्यवसायीकरूपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौं किसानको लाखौंको आलुबाली नष्ट भएको तथ्यांक वडा कार्यालयसँग छ ।

    धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पुर्‍याउने गरेको छ । यस वर्ष मात्रै झण्डै ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्यांक वडा कार्यालयसित छ ।

    ‘हामी असिनाको रोकथामका लागि आलुबालीमा जाली लगाउने की भन्ने योजानमा छौं’, वडाध्यक्ष तुलबहादुर विकले भने, ‘असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।’ वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij