वेबटिभी खबर
कैलाली । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरेका हुन् ।
उक्त अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगगा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि काम गरेकाे बताए ।
‘समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ’,उनले भने, ‘आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।’
मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा.निमेश खतिवडाले टीकापुरले अब कोभिड-१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले टीकापुरका नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि टीकापुर अस्पतालले पालिकाहरूसँग समन्वय गरेर सेवा दिइरहेको जानकारी दिए ।
‘हामी कहाँ सातामा दुई दिन खोप कार्यक्रम सञ्चालन हुन्छ, अस्पतालमा खोप सेवा लिनेको संख्यासमेत धेरै छ’, उनले भने, ‘सहज सेवाका लागि काम गरिरहेका छौँ ।’ कार्यक्रममा पूर्णखोप कार्यक्रममा सघाउने वडाध्यक्षहरू, स्वास्थ्य प्रमुख, कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij