वेबटिभी खबर
बैतडी । खुला सीमा नाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरूपमा नेपाल भित्रिएपछि नेपाली किसान समस्यामा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेका हुन् ।
बैंकिङ लगानीमा कृषि पेसा अंगालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयात गरेका उत्पादनले विस्थापित गरेको किसानहरू बताउछन् ।
सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्या भएपछि बाहिरबाट आएका उत्पादनले आफूहरूको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका-७ का किसान विजयसिंह केवट बताए ।
आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।
भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युतलगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ ।
नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका-१४ का किसान पन्नेलाल केवट गुनासो गरे ।
नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका-१२ का किसान राधेश्याम लोधले बताए ।
संघ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रूपन्देही कृषि उद्यमी बताउँछन् ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij