Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

होम आइसोलेसन: के गर्ने के नगर्ने, के हाे प्राकृतिक भेन्टिलेटर ?

होम आइसोलेसन: के गर्ने के नगर्ने, के हाे प्राकृतिक भेन्टिलेटर ?

  • 1.1K
    SHARES
  • होम आइसोलेसन:  के गर्ने के नगर्ने, के हाे प्राकृतिक भेन्टिलेटर ?

    काठमाडौं । पछिल्लो समयमा देशमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । जस कारण देशमा भयावह स्थिति सिर्जना भइरहेको छ ।  नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणबाहिर गएको संकेत देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    उपत्यकालगायतका २२ जिल्लामा कोरोना संक्रमण डर लाग्दो रुपमा बढिरहेको छ । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि संक्रमण बढिरहेको र अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध नभएको विज्ञप्तिमार्फत जानकारी गराएको थियो । त्यसैले आम सर्वसाधारण संवेदनशील भएर अगाडि बढ्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । 

    कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई धौधौ परेकाे छ । कयौं संक्रमितले बेड र अक्सिजनको अभावमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । यससँगै कोरोना संक्रमण नियन्त्रणमा दिनरात नभनी संक्रमितकोे उपचारमा खटिरहेका स्वास्थ्यकर्मीको अवस्थाले सबैलाई भावुक बनाइरहेको छ ।

    शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभर कोरोना संक्रमणको महामारीलाई स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी फैलिरहेको भन्दै सबैलाई आफैं सचेत भएर यसबाट बच्न अपिल गरेको थियो । 

    त्यसैगरी कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र अस्पतालमा बेड अभावलाई मध्यनजर गर्दै घरमै आइसोलेसनमा रहेका संक्रमितलाई सुरक्षित रहन जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले सुझाएका छन् । 

    १. थर्ममिटरबाट तापक्रम नापिरहनु पर्छ । ९८-९९ फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो । तर १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा/टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

    २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनु पर्छ । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुपर्छ । यसलाई प्रोन पोजिसन भनिन्छ ।  पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानिर सिरानी राखेर पेटको बलमा पर्छ । यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । 

    ३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुपर्छ आवश्यकताअनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।

    ४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्ने । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जाँच गराउनुपर्छ । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्थाअनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

    ५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्ने । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

    ६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्ने, अस्पतालमा ठाउँ उपलब्ध नभए पनि लक्षणअनुसारको उपचार हुनसक्छ । 

    ७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्ने । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

    ८. मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुपर्छ । 

    ९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनु पर्छ । यसपटकको प्रजाति निकै संक्रामक छ ।

    १०. घरको खानाको अतिरिक्त फलफूल, दूध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खाने गर्नुपर्छ । 

    ११. पानीको बाफ लिंदा आराम हुन्छ ।

    १२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ/कोल्डड्रिंक्स सेवन गर्नु हुँदैन । 

    १३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुपर्छ । 

    १४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुपर्छ । धेरै आत्तिनु हुँदैन ।  

    १५. दिनमा १/२ पटक मात्र समाचार हेर्नुपर्छ । सामाजिक संजालबाट टाढा रहने प्रयास गर्नुपर्छ । अनाधिकृत समाचारले तनावलाई बढावा दिन्छ । 

    १६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउने । त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुपर्छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology