वेबटिभी खबर
नेपालगञ्ज । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद-उल-अजहा (बकर इद) बाँकेको नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।
बकर ईदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित ईदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौंको संख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।
ईदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए ।
बकर इदको अवसरमा नमाजपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले सम्पूर्ण देशवासीमा बकर ईदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।
बकर ईदको शुभकामना आदानप्रदानका लागि गैरमुस्लिम धर्मावलम्बी पनि ईदगाह पुगेका थिए । नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, पूर्वनगरप्रमुख डा.धवलशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।
तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने विशेषता छ । बकर ईदमा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने चलन छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij