वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जीवनकै ठूलो गल्ती गरेको भन्दै टिप्पणी गरेका छन् ।
आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरेको भन्दै नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचना गरेका हुन्। उनले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’
नेता नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा विश्वासिलो नभएको पनि उनले उल्लेख गरेका छन् । केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ ।
‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’– उनले लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij