Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तरकारी जोन कार्यक्रमबाट कृषक लाभान्वित

तरकारी जोन कार्यक्रमबाट कृषक लाभान्वित

  • 477
    SHARES
  • तरकारी जोन कार्यक्रमबाट कृषक लाभान्वित

    नवलपरासी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन् । नवलपुरका ३ स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

    कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

    तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो । हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ ।

    तीन स्थानीय तहका ९९ समूह, ६ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्व छन् भने २ हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् । नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या धेरै छ ।

    परियोजना सुरु हुने अघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठूलो राहत मिलेको छ ।

    जोनमा आबद्व हुप्सेकोट-१ जुकेपानीको लेकबेंसी कृषक समूहका कृषक शंकर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्यांकी, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताए ।

    परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्व भएपछि कृषकलाई आवश्यक धेरै सामग्री अनुदानमा पाउँदा लागत घटेको उनले जानकारी दिए ।

    परियोजनाको कामबाट आफ्नो समूह निकै खुसी भएको उनले बताए । ‘परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ’, ‘यसले धेरै सहजता मिलेको छ’, कृषक शंकर थापाले भने, ‘यसले कृषि पेसा गर्न उत्प्रेरित गरेको छ ।’

    जुकेपानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया रानामगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताए । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उनले जानकारी दिए ।

    निर्वाहमुखी खेती गर्दै आएकोमा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उनको भनाइ छ । हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्रा खेती गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ ।

    त्यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी करेलालगायतका खेती गर्ने गरिएको छ । यस्तै कावासोती-१७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताए । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उनको भनाइ छ ।

    अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको छ । परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको कार्यालयका कर्मचारी कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् ।

    कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बीउबिजन, उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिए ।

    तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेसा भएको कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएको समेत उनको शर्माले बताए ।

    तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु, बोडी, भिन्डी करेला, घिरौंला, खुर्सानीलगायतका तरकारी खेती गरिन्छ ।

    परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij