वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।
सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैं आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मंसिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैं किसानले मल नपाएको बताए ।
सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पुर्याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए ।
सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको भने । सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताइन् ।
सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको जानकारी गराइन् । सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरे ।
सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij