वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनःबस्ने गरि सकिएको छ । सोमबारदेखि सुरु भएको बैठकमा हालसम्म ४८ नेताले आफ्ना भनाइ राखेका छन् ।
बैठक बुधबार दिउँसो २ बजे पुनः बस्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । आजकाे बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ बुँदे धारणा राखेका थिए ।
उनले चुनावमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढी सिट सुरक्षित गर्नसक्नेसहितका ५ बुँदे धारणा राखेका छन् । स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाँदा नै राम्रो परिणाम आएको उनको बुझाई छ ।
अर्थतन्त्र बिग्रिएको भन्दै पौडेलले यसका लागि विज्ञहरुसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
त्यस्तै आजकै बैठकमा प्रस्तावित वरियता क्रममा कांग्रेस प्रदेश सभापतिहरूले आपत्ति जनाएका थिए । केन्द्रीय सदस्यहरू भन्दा आफूहरूलाई तल राखेकाे भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरिएकाे वरियताक्रम मस्यौदामा केन्द्रीय सदस्यलाई ९ नम्बरमा राखिएकाे छ भने प्रदेश सभापतिहरूलाई ११ नम्बरमा राखिएकाे छ । उक्त कुरामा असन्तुष्ट जनाउँदै ७ वटै प्रदेशका सभापितहरूले आफूहरूलाई केन्द्रीय सदस्यभन्दा माथि राख्नुपर्ने माग राखेका थिए ।
बैठकमा प्रस्ताव गरिएकाे वरियता क्रमकाे पहिलाे नम्बरमा केन्द्रीय सभापति रहेका छन् भने अन्तिम १२१ मा नेपाली कांग्रेस सदस्य रहनेछन् ।
सभापतिपछिको वरियतामा पूर्वसभापति रहने व्यवस्था गरिएको छ । यो वरियताक्रम केन्द्रदेखि सबै तहका समितिमा कायम रहेको छ ।
प्रधानमन्त्रीको वरियता पूर्व सभापतिपछिअर्थात तेस्रो स्थानमा प्रस्ताव गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij