वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा पुगेका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावनाबढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन् । तर हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यमा सम्भावना देखेको उनले तर्क गरे ।
उनले भने, ‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सिके राउत र विप्लप माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दा खेरी हामी तुलनात्मक रुपमा नेकपा एमालेसँग नजिक भएको महशुस गर्छौँ ।’
राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रूपमा स्थापना गराउने अभियानमा आफूहरू लागेको उनले बताए ।
उनले भने, ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन बिस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रूपमा स्थापना गराउँछौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij