वेबटिभी खबर
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ ।
कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन गरेको छ । यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो ।
कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको संकलन गरिएको छ । यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो ।
यस्तै गैरकर राजश्वतर्फ १ खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ७७ अर्ब १९ करोड ७ लाख बराबर संकलन भएको छ । यो कूल लक्ष्यको ६९.२३ प्रतिशत बराबर हो ।
वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत बराबर प्राप्त भएको छ । चालु आव सकिन दुई दिन बाँकी छ ।
यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ ।
कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ ।
त्यसमा चालु खर्चको मात्रा बढी छ । चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये ९ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो ।
यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि २ खर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो ।
त्यसमध्ये हालसम्म २ खर्ब ६ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ । यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो । यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ ।
सरकारले १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म १ खर्ब ९ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ ।
सरकारले लिएका विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वित्तीय व्यवस्थामार्फत बजेट नै विनियोजन गर्ने गरेको छ । कूल लक्ष्यमध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको ऋणको भुक्तानी गरेको छ ।
सरकारले गत जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो ।
कूल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको थियो ।
कोभिड-१९ महामारीको विषम परिस्थितिबीच हालसम्मको राजश्व संकलन अवस्था सन्तोषजनक रहेको भन्दै सरकारले चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको हाराहारीमा रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको थियो ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij