वेबटिभी खबर
काभ्रे । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगु को संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो ।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेंगु को संक्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ ।
उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए ।
यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेंगु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
‘धुलिखेललगायतको स्थानका डेंगु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ’, कार्यालयप्रमुख डा.पुरुषोत्तम सेढाईंले भने ।
ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो । पाँचखालमा भेटिएका संक्रमितको काठमाडौमा उपचार भइरहेको सेढाईंले बताए ।
लामो समयपछि पाँचखालमा पहिलो डेंगु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए ।
उनका अनुसार डेंगु रोगको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ ।
लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।
काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेंगु को संक्रमण देखिएको थियो । त्यसबेला खानीखोला गाउँपालिकामा संक्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा संक्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो । छ संक्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो ।
त्यतिबेलाको अनुगमन/निरीक्षणबाट खानीखोलाका संक्रमित पुरुष कामको सिलसिलामा छिमेकी मकवानपुरको हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेंगु रोगका लक्षण देखिएको जिल्ला कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल जिल्लाका तीन स्थानमा डेंगु संक्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेंगु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij