Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बिपी लोकमार्गमा सीसीटिभी क्यामेराबाट निगरानी

बिपी लोकमार्गमा सीसीटिभी क्यामेराबाट निगरानी

  • 324
    SHARES
  • बिपी लोकमार्गमा सीसीटिभी क्यामेराबाट निगरानी

    सर्लाही । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सीसीटिभीमार्फत निगरानी गर्न थालिएको हो ।

    पूर्व-पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सीसीटिभी क्यामेरा प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

    उनका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सीसीटिभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो । मधेस प्रदेशको ५ स्थानमा सीसीटिभी जडान गरिएको र सवारी साधनको गति सोहीअनुसार मापन गरिएको प्रहरी उपरीक्षक गुरुङले बताए ।

    सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालयको बारा, महोत्तरी, सिरहा र सप्तरीमा गरी पाँच स्थानमा सीसीटिभी विथरडारगनसमेत जडान गरिएको छ ।

    सीसीटिभीको जडानले दुर्घटना गरेर भाग्ने सवारी साधनको पहिचान खुल्न सजिलो हुनाका साथै तीव्र गतिमा सञ्चालित सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सहज भएको सप्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलजंग थापाले बताए ।

    प्रायः जंगल क्षेत्रमा पर्ने हाइवे सडकखण्डमा सवारी साधनले दुर्घटना गरी भाग्नेलाई कारबाही गर्न र कुनै समस्यामा पर्नेलाई सीसीटिभीमार्फत निगरानी गर्न सजिलो भएको बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।

    चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद-३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको र सीसीटिभीको फुटेजमार्फत त्यस्ता सवारी साधनलाई कारबाही गर्न झन सहज भएको सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुकेन्द्र श्रष्ठले बताए ।

    राडारगन र सीसीटिभीको माध्यमले बढी गतिका सञ्चालित यात्रुबाहक सवारी साधन, मोटरसाइकल र मालबाहक सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले उल्लेख गरे ।

    उनका अनुसार तीव्र गतिले सडकमा गुडेको सवारी साधनलाई सिसीटिभी फुटेजमार्फत कारबाही गर्न सहज हुनाका साथै राजस्व पनि वृद्धि भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij