वेबटिभी खबर
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । यहाँ हाल दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।
गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको संक्रमणदर मंगलबार यस प्रदेशमा ९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकोमा आइतबार ३, सोमबार ७ र मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मंगलबार गड्डाचौकी नाकामा ७ र गौरीफन्टा नाकामा २ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, ‘सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।’
यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरूद्वको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ ।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको मृत्यु गइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij