Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाग्लुङ कालिका मन्दिरबाट साढे दुई करोड आम्दानी

बाग्लुङ कालिका मन्दिरबाट साढे दुई करोड आम्दानी

  • 349
    SHARES
  • बाग्लुङ कालिका मन्दिरबाट साढे दुई करोड आम्दानी

    बाग्लुङ । बाग्लुङ कालिका भगवती गुठीले एक वर्षमा २ करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो ।

    माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय भएको सार्वजनिक गरेको हो ।

    खर्चतर्फ तलबका लागि १८ लाख ९१ हजार र बिजुली महसुल १ लाख १४ हजार खर्च भएको उल्लेख छ । हाल निर्माण सम्पन्न भएको सत्तलका लागि ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ २ लाख ९३ हजार देखाइएको छ ।

    कर्मचारीको पोशाकका लागि ३ लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ २ लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा १ लाख ९६ हजार, सामान खरिदमा ३ लाख ४ हजार र चैत्रास्टमी मेलाका लागि १८ लाख खर्च भएको हो ।

    आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट २ लाख ७९ हजार, बोकाको टाउको बिक्री ७ लाख ३४ हजार, कुखुराको ८० हजार, राँगाको १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट १७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत १० लाख ७६ हजार कमाइ भएको देखिएको हो ।

    आम्दानी र खर्चमध्ये बैंकमा ७८ लाख ९४ हजार र साना नगदी कोषमा ८ हजार ९०० रहेको देखिएको छ । उनले आजदेखि कालिका भगवती मन्दिरको गेट रातको समयमा बन्द गर्ने निर्णय गरेको बताए ।

    ‘अनधिकृत मानिस प्रवेश गर्ने, सुरक्षामा चुनौती’ भएको र मन्दिरमा अन्य घटना पनि हुनसक्ने भन्दै गेट बन्द गर्ने निर्णय गरेको हो । यस्तै हाल सवारीसाधन पार्किङ गरिरहेको स्थान मानव सेवा आश्रमको जिम्मामा दिने निर्णय गरेको छ ।

    उक्त स्थानमा उठ्ने सवारी शुल्क आश्रमले व्यवस्थापन गरेर आम्दानीको रूपमा लैजान पाउने भएको हो । यहाँ शुल्क उठाउँदा बढी लिएको वा अन्य समस्या आएको भन्दै उजुरी आएपछि सेवामूलक काममा खर्चर्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

    गुठीले मन्दिर परिसरभित्र रहेका पुराना जीर्ण संरचनालाई पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर सुविधासम्पन्न विद्याश्रम र धर्मशाला बनाउने, ऐतिहासिक धार्मिक सङ्ग्राहलय बनाउने योजना अगाडि सारेको छ ।

    मन्दिर परिसरमा अखण्ड धुनी निर्माण गर्ने, काठबाट निर्मित हवन कुण्ड बनाउने, भक्तजनलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, महिलामैत्री, फरक क्षमता भएका व्यक्तिको सहज हुने शौचालय बनाउने रणनीतिक योजना बनाइएको छ ।

    नियमित भजनकीर्तनलाई निरन्तरता दिने, वेबसाइट निर्माण, भक्तजनको रेकर्ड सुरक्षित गर्न सकिने मेसिन जडान गर्ने, जंगली जनावरको संरक्षण गर्ने, गरिब जेहेन्दार, अनाथ र असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।

    गुठीले सामाजिक एवम् मानवीय हितका लागि कालिका भगवतीको नामअंकित गरेर एम्बुलेन्स, शववाहन तथा दमकलको व्यवस्थापन गर्ने लक्ष्यसमेत रणनीतिक योजनामा समावेश छ । यसअघिको समितिले बनाएको गन्तव्य कालिका अभियानलाई निरन्तरता दिएर बढीभन्दा बढी भक्तजन भित्र्याउनेसमेत लक्ष्य राखिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij