Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दामनमा पाँच हजार किलो स्याउ उत्पादन

दामनमा पाँच हजार किलो स्याउ उत्पादन

  • 563
    SHARES
  • दामनमा पाँच हजार किलो स्याउ उत्पादन

    मकवानपुर । थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बाग्वानी केन्द्रले स्याउको बिरूवा पनि उत्पादन गरेको छ ।

    बाग्वानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब ५ हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ ।

    बाग्वानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब ५ हजार किलो स्याउ उत्पादन भएको बताए । स्याउ उत्पादनभन्दा पनि बिरूवा उत्पादन गरेर किसानबाट स्याउको उत्पादन गराउनु लक्ष्य रहेको उनले जानकारी दिए ।

    उनका अनुसार हिउँदमा हिमपात राम्रो भएमा उत्पादन राम्रो हुनसक्ने र हिमपात नभएमा उत्पादनमा ह्रास आउँछ । स्याउ राम्रो फलाउनका लागि थोरै जमिनमा धेरै बिरूवा लगाउने प्रविधि अपनाएर स्याउको बिरूवा रोपिएको प्रमुख केसीले बताए ।

    राम्रो उत्पादनका लागि हिमाली जिल्लाहरूमा मात्र रोप्न सकिने अथवा समुद्री सतहदेखि २ हजारदेखि ४ हजार मिटर उचाइमा हिमपात हुने स्थानमा राम्रोसँग उत्पादन दिन सक्ने उनले जनकारी दिए ।

    बागवानीले हालसम्म वार्षिक ५ हजार स्याउको बिरूवा किसानलाई वितरण गर्नका लागि उत्पादन गर्दै आएको उनको भनाइ छ । स्याउलगायत अन्य फलफूलका बिरूवा उत्पादनका लागि वार्षिक १० लाख लागत लाग्ने प्रमुख केसीले बताए ।

    स्याउका बिरूवामा फूल खेल्ने मौसम असिना पर्ने भएकाले असिनाबाट जोगाउन जाली लगाइएको प्रमुख केसीको भनाइ छ । स्याउ फूल खेलेपछि फल पाक्न पाँच महिना लाग्ने र फूल खेल्ने समयमा हिमपात धेरै भएमा फल राम्रो हुने उनले जनकारी दिए ।

    २०५० देखि नै परीक्षणको लागि स्याउको बिरूवा लगाएको बताउँदै उनले ईटाली, साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम जातका स्याउ २०७३ मा बागबानीले आफ्नो बगानमा परीक्षणको निम्ति ल्याएको प्रमुख केसीले बताए ।

    बिरूवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटमा फल लागेको उनले जानकारी दिए । एउटा बोटमा करिब १० केजीसम्म फल फल्ने र यी जातका स्याउको बिरूवाको औसत आयु २० देखि २५ वर्षकोसम्म हुने उनको भनाइ छ ।

    यसका अतिरिक्त सो बागबानी केन्द्रमा धेरै ब्लक बनाइ अनेकौं जातका जापानी नासपाती, आरु, हलुवाबेद, कटुस, दाँते ओखर, आरु बखडा, आरु, फुल मात्र फूल्ने आरु र किबिका बिरूवा पनि रहेको बागबानीले जनाएको छ ।

    हाल यहाँ सो बागवानीमा अत्यधिक बिरूवाहरूको माग भइरहेको बागवानी केन्द्र दामनले जानकारी दिएको छ । किसानलाई वितरणको लागि बागबानीले करिब २० हजार जति फलफूलका बेर्ना बनाइएको छ ।

    यसबाहेक यहाँ मौसम अनुसारका कत्रिम विषादीरहित तरकारीको उत्पादन अनि शपथ दरमा बिक्रीवितरण पनि हुने गरेको बागनीले जनाएको छ । आलुको बीउ, फलफूल, तरकारी, बेर्ना बिक्रीवितरणबाट यस बागवानी फार्मले प्रत्येक वर्ष २० देखि २५ लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

    समुद्री सतहदेखि ७ हजार ६२० फिट उचाइमा रहेको थाहा-४ दामनमा पर्ने क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग किमी) को स्थापना २०२२ मा भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij