वेबटिभी खबर
सिन्धुपाल्चोक । पाँचपोखेरी थाङ्पाल गाउँपालिकाका वर्षौदेखि बाँझो रहेका जमिन विभिन्न खेतीकार्यको लागि प्रयोगमा ल्याइएको छ।
पुरानै शैलीको खेती गर्ने प्रणाली, जंगली जनावरको समस्याका कारण बाँझो रहेका जग्गामा अहिले परिवेश सुहाउँदो बाली लगाउन थालेपछि राम्रो उत्पादन हुन थालेको हो ।
जसले गर्दा किसान खुसी भएका छन् । देश संघीय संरचनामा गएसँगै स्थानीय तहले बाँझो रहेका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउने संकल्प गरेका थिए । त्यसको ज्वलन्त उदाहरण बनेको छ पाँच पोखरी थाङ्पाल गाउँपालिका ।
स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा पाँच पोखरी थाङ्पाल गाउँपालिकाले परिवेश विश्लेशण तथा रणनीति कार्ययोजना तयार गरेर किसानको विवरणसहित खेती भइरहेको जग्गा र बाँझो जमिनको विवरण संकलन तयार गरेको थियो ।
जग्गा बाँझो राख्ने प्रवृतिलाई निरूत्साहित गर्न र युवालाई कृषि पेशामा परिचालन गर्न स्थान विशेषका व्यावसायिक कृषि बाली बस्तुको पहिचान गरी किसानलाई विशेष अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमख निमराज गिरीले जानकारी दिए ।
अहिले कृषि कार्यमा लगानी गरेअनुसार किसानले उपलब्धि हासिल गरेका छन् । यस गाउँपालिकाका मुख्य स्थानीयवासी नगदेबालीमा आलु, किबीफल, अलैंची, चिया, कफी, अदुवा बेसार र तरकारीबाली पर्ने कृषि प्राविधिक संगीता दुलालले बताइन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ का किसान देवबहादुर स्याङबोले किबी फलफूलखेती, सुन्तलाजात फलफूल खेती र तरकारी खेती गर्दै आएको तीन वर्ष भयो ।
उनको दैनिकी अहिले बारीको गोडमेल र सरसफाइ गरेरै बित्छ । चार/पाँच वर्षदेखि कृषिमा लाएका स्याङ्बोले विभिन्न संघ संस्था र गाउँपालिकाको विभिन्न तालिमबाट प्रभावित भई किबी, फलफूल तथा घरको बगैंचाको सझावटसम्म पुगेको बताए ।
‘सुरुमा बार बन्देजको सकस भयो बाँसको थाँक्रा बनाए, एक वर्ष पनि टिकेन, त्यसपछि भोताङ पशुपालन किसान समूहलाई जानकारी गराए समूहले गाउँपालिकाबाट किबी खेतीको व्यवस्थापनको लागि सिँचाइ, टि बार र थप बिरूवा पनि सहयोग पाए, कृषि शाखाबाट स्याउँका ५० बिरूवा पाए सबै बिरूवा सरेका छन्’, खुसी हुँदै स्याङ्बोले बताए ।
पहिलाको वर्ष भन्दा यसपाली असिना हावाहुरी कम आएकाले किबी फल पनि अत्यधिक फलेको उनको भनाइ छ । अन्दाजी १०/१२ वटा बिरूवाबाट ६०/७० हजार बराबरको फल बिक्री गर्न सकिने अनुमान उनको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij