वेबटिभी खबर
कञ्चनपुर । पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँकी सुनिता नेपाली हराएका श्रीमान् खोज्न भौतारिँदै हिँडेकी छिन् । उनी आफन्तदेखि प्रहारी कार्यालयसम्म श्रीमानकाे खोजीका लागि पुगेकी छिन् ।
मानसिक सन्तुलन ठीक नभएका उनका ३५ वर्षीय श्रीमान् नरी नेपाली असार १९ गते आफन्तको घर आएका बेला बेलडाँडी क्याम्पबाट हराएका हुन् ।
‘श्रीमानकाे खोजीका लागि ठाउँ–ठाउँमा फोटो देखाउँदै हिँडेकी छु’, उनले भनिन्, ‘बेलडाँडी आएका बेला हराए, खोजी गर्न आफन्त, प्रहरी सबैकहाँ फोटो छाडेर आएकी छु ।’
नेपाली दम्पतीका तीन छोरी र एक छोरा छन् । घरमा छोराछोरी छाडेर सुनिता श्रीमानकाे खोजीमा हिँडेकी हुन् । ‘कता पो गए, के पो भयो, केही पनि थाहा छैन’, उनले भनिन्,‘सबैसित खोजीका लागि सहयोग गरिदिन आग्रह गरिरहेकी छु ।’
श्रीमानकाे खोजीमा बिहीबार उनी महेन्द्रनगर पुगेकी छिन् । भगतपुरस्थित आफन्तलाई साथ लिएर उनी बेपत्ता श्रीमान् खोजीका लागि प्रहरी कार्यालय पुगेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij