वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन, ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको चुनावपछि माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
अध्यक्ष प्रचण्डले नेकपा माओवादीमा पुनः एकपटक पुनर्स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनर्स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए ।
‘यो देशमा माओवादी पुनर्स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन,’ प्रचण्डले भने,‘आउने चुनावमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’
प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्यलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij