वेबटिभी खबर
जनकपुर । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकले जाँच गराएका छन् ।
माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिविरमा चालक तथा सहचालकले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।
शिविरमा जनकपुरधामस्थित म्याक्स लाइफ अस्पतालका जेनरल फिजिसियन डा.कृष्णकुमार साह, डा.अभिजित साह, न्यूरो सर्जन डा.रवि श्रीवास्तव, डा.नेहा साह तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा.सुनिल सिंहलगायत चिकित्सकले चालक तथा सहचालकको स्वास्थ्य जाँच गरे ।
यस्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालका आँखा विशेषज्ञले चालक र सहचालकको आँखाको जाँच गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
जाँच गरिएका चालक तथा सहचालकमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको रङ छुट्याउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको चिकित्सकले बताएका छन् ।
यस्तै रक्तचाप जाँच गरिएका चालकमध्ये १० प्रतिशतमा मात्र उच्च रक्तचापको समस्या देखिएको र त्यसमध्ये पाँच प्रतिशतले मात्र उच्च रक्तचापको औषधि सेवन गरिरहेको पाइएको चिकित्सकको भनाइ छ ।
लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्या समेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिनाका साथै तत्कालका लागि केही औषधिसमेत वितरण गरिएको म्याक्स अस्पतालका बजार अधिकृत पङ्कज साहले बताए ।
दुर्घटनाका विविध कारणमध्ये सवारी चालकको आँखा कमजोर र स्वास्थ्य समस्याका कारण पनि रहेकाले सवारी रोकेर चालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
निजी तथा सार्वजनिक सवारी चालकलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सही ड्राइभर एटिच्युडको विषयमा चालकलाई सचेतनासमेत दिइरहेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
जाँचपछि सवारी चालकसँग सवारी दुर्घटना हुनाका कारण र न्यूनीकरणका उपाय बारेमा अन्तरक्रिया गरेर सल्लाहसमेत लिने गरिएको उनको भनाइ छ । सो क्रममा चालकबाट सडकको दुरावस्थासँगै सवारी साधनमा ट्राफिक नियम विपरीत ठूला लाइनको प्रयोग गर्ने, गलत किसिमले लाइट बाल्ने, युवाहरुमा लागूऔषध सेवन गरी सवारी चलाउने जस्ता कारणले सवारी दुर्घटना बढेको जानकारी पाएको समेत उनले उल्लेख गरे ।
चालक तथा सहचालकबाट आएका सुझावका आधारमा सवारी दुर्घटना न्यूनीकरणका लागि थप योजना बनाइने प्रहरी निरीक्षक यादवले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij