वेबटिभी खबर
चितवन । वन तथा बातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरूलगायत संरचना निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।
निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका छन् । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेललगायतको उपस्थिति थियो ।
माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आबश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्टरूपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए ।
माडी चितवन क्षेत्र नं-३ मा पर्दछ । जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरूसहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो ।
सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए । महानगर प्रमुख दाहालले भनिन्, ‘मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ ।’
माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खर्कट्टा बगई सडक निर्माण र भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएको थियो ।
यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएकोमा उक्त विषयमा पनि छलफल सकारात्मकरूपले अघि बढेको महानगरप्रमुख दाहालले जानकारी दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij