Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दुर्गम क्षेत्रका एक सय घरमा सोलार जडान

दुर्गम क्षेत्रका एक सय घरमा सोलार जडान

  • 476
    SHARES
  • दुर्गम क्षेत्रका एक सय घरमा सोलार जडान

    म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका-२ जेमका १ सय घरमा सोलार जडान गरिएको छ ।

    गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो ।

    कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागत साझेदारीमा १ सय घरमा सौर्य उर्जा जडान गरिएको जानकारी दिए ।

    सौर्य उर्जा खरिद र जडानका लागि एन्क्वा फ्रेस नेपाल एण्ड सोलार प्रालिसँग आर्थिक वर्ष २०७८/७९ मा ११ लाख १९ हजार ३५ मा सम्झौता भएको थियो ।

    हालसम्म केन्द्रीय प्रशारण लाइन र लघुजलविद्युत् परियोजनाको सुविधा नपुगेका बस्तीमा उज्यालो बनाउने प्रदेश सरकारको नीतिअनुसार जेममा सौर्य उर्जामार्फत विद्युत् सुविधा उपलब्ध गराइएको कार्यालय प्रमुख सुरेन्द्र पौडेलले बताए ।

    सोलार जडान भएपछि रातीको समयमा घरायसी काम गर्न, बालबालिकालाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो बजाउन सहज भएको स्थानीयवासीले बताएका छन् । यसअघि उज्यालोका लागि टुकीमा निर्भर हुनुपरेको थियो ।

    लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने धवलागिरी गाउँपालिकाका १२० घरधुरीलाई प्रदेश सरकारमार्फत ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो ।

    खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष काठेपोल विस्थापित गर्न मालिका गाउँपालिकालाई १९३ र धवलागिरीलाई ९० थान उपलब्ध गराएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij