सर्लाही । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक पास गरेर माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् ।
पार्टीले सर्लाहीमा शनिबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्न बाग्मती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । माओवादी केन्द्रले मधेस प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनको भनाइ थियो ।
‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ,’ उनले भने, ‘हिजोबाट मधेस र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु ।
प्रचण्डले अगाडि भने, ‘यसबाट फेरी एकपटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको छ ।’ नागरिकताकै कारण अब कोही नेपाली अनागरिक बन्नु पर्ने दिन नआउने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij