वेबटिभी खबर
घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि सहनुको विकल्प पनि हुँदैन ।
त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेतस्थित नेवारेमा अस्थायीरूपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्यो ।
विश्वव्यापी महाव्याधिकारूपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाइन् । २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात गएका थिए ।
त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना संक्रमणको निकै ठूलो त्रासदी थियो । भारतमा कोरोना व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो। बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उनलाई कोरोना संक्रमण देखियो ।
‘कोरोना संक्रमण देखिएपछि उहाँ आफैंले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन ।’ पद्माले भनिन्, दुर्भाग्यः ‘अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो ।’
बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो । पति वियोगले पद्मालाई केही समय सम्हालिन गाहे भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले ।
पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो । तरपनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उनलाई । पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो ।
ऋणकाे भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उनको पतिको जीवनको सपना थियो ।
पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख-सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो ।
पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई । त्यो बेला कोरोना रोग र त्यसबाट मृत्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड-१९ रोग लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।
समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । उनले पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर विदाई गरिन् ।
‘पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाहे त भयो नै । तथापि संसारलाई हेरें, अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ संकल्प मनमनै गरें,’ पद्माले भनिन्, ‘छोरा छोरी साथमै छन् । अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें ।’
उनका पतिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरूवा रोप्नका लागि ६३४ सिमेन्टको खम्बा ठड्याइसकेका थिए ।
२०७८ वैशाख पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो । पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरूवा भने पद्माले रोपिन । एउटा खम्बामा चारवटाको दरले रोप्दा ६३४ खम्बामा करिब २ हजार ६०० ड्रागनको बिरूवा लगाइएको उनले बताइन् ।
उनका अनुसार बिरूवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति ज्ञयान थिएन । प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उनले जानकारी दिइन् ।
पद्माले भनिन्, ‘यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि र कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन । यो त उहाँलाई मात्र थाहा थियो ।’
बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरूवा ल्याएका थिए ।
त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो । खेती सुरु गरेदेखि अहिलेसम्म ७० लाख बजेट लगानी भइसकेको पद्मा बताउँछिन ।
उनका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पुर्याएकी छिन् । हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो ।
मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले करिब ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक ३ लाख भाडा तिर्ने गरी लिजमा लिएको उक्त जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उनले बताइन् ।
ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ । उनले भनिन्, ‘प्रतिकेजी ८०० को मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ । यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पुर्याउन सकिरहेका छैनौंं । अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौंं ।’
पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आएकी छिन् । सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताइन् । उनका अनुसार एउटा पिलरमा लगाइएको बिरूवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ ।
यस हिसाबले उनीहरूले सामान्यतया एक महिनामा ३ हजार ६०० र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर २०० मा बिक्री गर्दै आएको छ ।
आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरूवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताइन् । विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उनी बताउछिन् ।
ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ । अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरूले अपेक्षा गरेका छन् ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताए । उनले भने, ‘फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ । वार्षिक ६ लाख आम्दानी भन्दा कम हुँदैन ।’
उनले मालिका ड्रागन फ्रुट फर्मलाई ८० हजारसहित एकहाते ट्रयाक्टर पनि सहयोग गरिएको जानकारी दिए । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात पाँच विगाहा क्षेत्रफल जमीनमा ड्रागन फ्रुट खेती भइरहेको छ ।
ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ । यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij