Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हलोकाे विकल्प ट्याक्टर

हलोकाे विकल्प ट्याक्टर

  • 417
    SHARES
  • हलोकाे विकल्प ट्याक्टर

    बाग्लुङ । नेपालमा आधुनिक कृषि प्रविधि भित्रिएसँगै अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ । ग्रामीण भेगमा पछिल्लो समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् । समथर भू-भागमा ट्याक्टरको प्रयोग बढ्दै गएकाे छ ।

    ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गह्रा हुने भएकाले केही स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको स्थानीय किसान बताउँछन् ।

    समथर ठाउँका लागि ट्याक्टरको प्रयोग बरदान नै भए पनि मलिला खेतमा भने यसको प्रयोगले जमिनको भित्री रुखो माटो बाहिर ल्याउने हुँदा उत्पादनमा प्रत्येक्ष असर पार्ने गरेको अगुवा किसान हरिप्रसाद आचार्य बताए ।

    ‘कास्कीको दक्षिणभेगस्थित सुरौदी फाँटका मलिला खेतमा ट्याक्टरको प्रयोगले रुखो माटो निकाल्ने गरेको मेरो अनुभव छ’, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘अन्य गेग्रानयुक्त ढुंगे खेतका लागि भने यसको प्रयोगले खेती गर्न सजिलोका साथै उत्पादन बढाएको छ ।’

    खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसँगै ती उपकरण सजिलै लैजान नसकिने ठाउँमा खेतबारी बाँझै रहन थालेको किसान बताउँछन् । पछिल्लो वर्षमा स्थानीय जातका गाई पाल्न छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ ।

    विगतमा कास्की र आसपासमा सिक्लेस, गोर्जे, हङ्शपुर, माझठाना, बाबियाडाँडा, भरतपोखरी लगायतका स्थानमा गोरुको राम्रै खरिदबिक्री हुने गरेकामा अहिले भने ती ठाउँमा पनि अधिकांशले गाई पाल्न छाडेका छन् ।

    यस क्षेत्रमा विकासी जातका गाईका बाच्छालाई गोरुकारूपमा प्रयोग गरिदैन । ग्रामीण भेगमा दाइँ हाल्नका लागि गोरुको अभाव हुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । एउटा गोरु किन्न सामान्यतः २० देखि ३० हजारसम्म खर्चनुपर्ने किसान किसानकाे भनाइ छ ।

    गोरुको अभावसँगै पछिल्लो वर्षमा परम्परागत काठे हलो बनाउने व्यक्तिको पनि अभाव खड्कँदै गएको छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्नुका साथै त्यसबाट निर्वाहसमेत नहुने भएपछि हलो किन्नका लागि पाउन पनि मुस्किल हुने गरेको अर्का किसान टीकाराम तिवारीले बताए ।

    ‘हलो बनाउनका लागि सीप उत्तिकै आवश्यक छ, पछिल्ला पुस्तामा यसतर्फ चासो नदेखिएका कारण अहिले हलो सहजरूपमा किन्नका लागि पाउन सकिँदैन’, उनले भने ।

    नयाँ प्रविधिका ट्याक्टर भित्रिए पनि त्यसलाई चलाउन सक्ने सीपका साथै सामान्य बिग्रदा मर्मत गर्न समेत समस्या हुँदा कतिपय स्थानमा हलोको प्रयोग चाहेर पनि चटक्क छोड्न नसकिएको किसानको अनुभव छ ।

    गाउँका टारीखेतमा मिनि टेलर बोकेर तलमाथि गर्नुका साथै चलाउने सीपको अभाव र मर्मतको अज्ञानता आदि समस्याका रुपमा रहेको तिवारीको भनाइ छ । पछिल्लो समयमा बढ्दै गएको ट्याक्टर एवम् मिनि टेलरको प्रयोग किसान लागि बरदान सावित भएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले बताए ।

    आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको जनाउँदै उनले विगत सात वर्ष यता यी उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको जानकारी दिए ।

    गोरुका लागि घाँस काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्या समाधान भएको किसान बताउँछन् । छोटो समयमा धेरै काम गर्न सकिने भएको पनि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij