वेबटिभी खबर
म्याग्दी । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका-२ बगरफाँट खानेपानीको समस्या भएको छ ।
यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याइ सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधेखोलामा आएको बाढीले क्षति पुर्याएको हो ।
बगरफाँटमा पुनः खानेपानीको समस्या भएको छ । २ सय ८ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी पिउन बाध्य भएको स्थानीय ओमकुमारी शर्माले बताए ।
२ सय १४ घरधुरी रहेको बगरफाँटमा ९ दिनदेखि खानेपानीको समस्या भएको छ । २०६९ मा बेनी नगरपालिका-३ भकिम्ली र बेनपा-२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो ।
५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको हो । यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका हेरालु हरि कार्कीले बताए ।
वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाइने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij