वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदीय प्रणालीबाट जोसुकै प्रधानमन्त्री भएपनि निकास ननिस्कने बताएका छन् ।
सामाजिक सञ्जालमा केही युवाले डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल र माधव नेपालको फोटो राखेर ‘जे गर्यौ, धन्यवाद । अब पालो अरू कसैको, स–सम्मान बिदावारी निर्वाचन २०७९’ अभियान चलाइरहेका छन् ।
नयाँ पुस्ताको यो अभियानप्रति टिप्पणी गर्दै डा.भट्टराईले संसदीय प्रणाली नभइ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जोड दिनुपर्ने बताएका हुन् ।
वर्तमान नेतृत्वप्रति नयाँ पुस्तावको आक्रोश स्वभाविक रहेको बताउँदै डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन । यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो; अतः प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न !’
डा.भट्टराईले यी दुई कुरामा युवाले ध्यान दिनुपर्ने बताउँदै हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै नभएकाे जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij