नयाँ दिल्ली । भारतमा सोमबार कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । यससँगै अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएको देश भारत बनेको छ ।
अमेरिकामा हालसम्म तीन करोड ३८ लाख मानिस संक्रमित भएका छन् । भारतमा पहिलोपटक जनवरी ३० मा चीनको वुहानबाट फर्किएका एक छात्रमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पहिलोपटक संक्रमण पुष्टि भएको १५ महिनामा त्यहाँ दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसको महामारीको चपेटामा परेका छन् ।
सन् २०२० को डिसेम्बरमा संक्रमितको संख्या एक करोड नाघेको थियो ।
गत वर्षको अप्रिल, मेमा प्रत्येक दिन भारतमा दुई देखि पाँच हजार नयाँ संक्रमित भेटिएका थिए । जुनदेखि यो संख्या बढेर पाँचदेखि २० हजार पुग्यो । अगस्टमा ६० देखि ७५ हजार र सेप्टेम्बरमा एक दिनमै ९७ हजारसम्म नयाँ संक्रमित थपिएका थिए ।
पहिलो लहरको कोरोना संक्रमणको पहिलो पिक १७ सेप्टेम्बरमा थियो । तर अहिले चलिरहेको दोस्रो लहरको संक्रमणमा दैनिक चार लाखसम्म संक्रमित भएका छन् । दोस्रो लहरको पिक मे महिनामा हुन सक्ने अनुमान गरिएको छ ।
संक्रमितको संख्यामा विश्वमा दोस्रो नम्बरमा रहेको भारत मृत्युदरको मामिलामा अमेरिका, ब्राजिलपछि तेस्रो नम्बरमा छ । त्यहाँ अहिलेसम्म दुई लाख १८ हजार नौ सय ४५ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । अमेरिकामा पाँच लाख ९२ हजार, ब्राजिलमा चार लाख सात हजारको मृत्यु भइसकेको छ । चौथो नम्बरमा रहेको मेक्सिकोमा दुई लाख १७ हजारको ज्यान गएको छ ।
लगातार संक्रमितको संख्या बढिरहेको भारतमा पछिल्ला दुई दिनमा भने गिरावट आएको छ । शुक्रबार चार लाख दुई हजार १४ संक्रमित थपिएकोमा शनिबार तीन लाख ९२ हजार चार सय ५९ संक्रमित भएका थिए ।
आइतबार पनि नयाँ संक्रमितको संख्या घटेर तीन लाख ६९ हजार नौ सय ४२ सम्म पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology