वेबटिभी खबर
पोखरा । पोखरा महानगरपालिका-२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ ।
चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकोमा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात÷आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
यसवर्ष बाली विकास कार्यक्रम (धान उत्पादन प्रवर्द्धन कार्यक्रम) अन्तर्गत पोखरा-२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो ।
त्यसअन्तर्गत २ हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट ८१ हजार २ सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट ५ प्रतिशत सहभागिता गरी कूल १ लाख ६२ हजार ४ सय लगानी गरिएको थियो ।
यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी ९ सयका दरले ६ सय १५ रोपनीको ५ लाख ५३ हजार ५ सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिए ।
महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि ५३ हजार ९ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि १ लाख ७ हजार ९ सय ८८ लगानी गरिएको थियो ।
साथै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी ३ वटा तराजुका लागि १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
यस वर्ष किसानले चैते धान ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिए । महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन (आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते-५ को उत्पादन प्रति हेक्टर ७ टन देखिएको छ ।
चैते स्थानीय उत्पादनप्रति हेक्टर ३ टन, चैते सानो उत्पादनप्रति हेक्टर २ दशमलव ८ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर ३ टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते-५ मन पराएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij