वेबटिभी खबर
रुकुमपूर्व । सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं-५ रुमालबाराका बसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन् ।
उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ ।
दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उनले बताए ।
यस्तै सिस्ने-६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेकी छिन् । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरेको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ ।
उनले खेती गरिएको सबै जमिन शाहीले भाडामा लिएकी हुन् । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गरेकी शाहीले अहिले श्रीमानलाई पनि स्वदेश फर्काएकी छिन् ।
कृषिमै भविष्य देखेकी शाहीले दुई/चार वर्ष विदेश बसेका श्रीमानलाई स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहेका छन् । रुकुमपूर्वकै पुथाउत्तरगंगा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ ।
वडा नं-१२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताए ।
उनीहरू जस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाएका छन् । अहिले जिल्लामा उनीहरूले कृषि पेशालाई अँगालेर उदाहरणीय बनेका छन् ।
मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर शहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरूले सन्देश दिएका छन् ।
युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ । स्वदेशमै भएकाहरू पनि शहरबजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij