वेबटिभी खबर
दाङ । दाङबाट निकासी हुने जुडीबुटीमा राष्ट्रिय वन क्षेत्रको तुलनामा निजी वन आवादी वन क्षेत्रबाट अत्यधिक रहेको पाइएको छ ।
जडीबुटीको कूल निकासीको ८२ प्रतिशत हिस्सा निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटी रहेको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका अनुसार बितेको ६ वर्षमा १८ लाख ७४ हजार १ सय ३३ किलो जडीबुटी भएको छ ।
यस अवधिमा निजी आवादी वन क्षेत्रबाट १५ लाख ३९ हजार ४८७ किलो जडीबुटी निकासा हुँदा राष्ट्रिय वन क्षेत्रबाट जम्मा १७ प्रतिशत अर्थात् ३ लाख ३४ हजार ६ सय ४६ किलो मात्रै रहेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।्र
यस अवधिमा दाङबाट सबैभन्दा धेरै टिमुर निकासा भएको छ । दुवै क्षेत्रबाट गरी हालसम्म ६ लाख ७६ हजार ५ सय ११ किलो टिमुर निकासा भएको देखिन्छ । गत वर्षमा मात्रै करिब साढे चार लाख किलो जडीबुटी दाङबाट निकासी भएको पाइएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वन र निजी आवादी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ ।
वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी संकलनको राजस्व लिने गरिए पनि निजी आवादी वनको जडीबुटी संकलनको राजस्व पूर्णरूपमा छुट गरिएकाले निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटीको हिस्सा बढी भएको हुनसक्ने वन अधिकृत चौधरीले बताए ।
राष्ट्रिय वन तथा निजी आवादी वन क्षेत्रबाट टिमुर, मालागेडी, रिठा, काउलो बोक्रा, दालचिनी बोक्रा, तेजपात, लहरे गुर्जो, अमला, बर्रो, ब्राहमी, फलखोटो, पाषणवेद, तिगेडी, कालिकाठ, अमलवेद, चिराइतो, चुत्रोलगायतका निकासी भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij