वेबटिभी खबर
काठमाडौं । बैंकबाट सहजरूपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ ।
लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका हुन् ।
लामो समयदेखि कलंकीमा नर्सरी सञ्चालन गर्दै आएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताए । कोरोना महामारी अघि सहजरूपमा ऋण उपलब्ध हुने गरेको भए पनि अहिले विभिन्न बहानामा ऋण नपाउँदा लगानी बढाउन नसकेको उनको भनाइ छ ।
सामान्यतया नर्सरी सञ्चालनका लागि ५० लाखदेखि १ करोडसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूलको उत्पादनमा कमी आएको छ ।
कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।
पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन । कोरोना महामारीको समयमा भन्दा अहिले केही गतिविधि बढे पनि विगतको झैँ लय लिन अझै नसकेको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ । गत आर्थिक वर्षमा ३ अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा २ अर्ब बराबर मात्र कारोबार भएको अनुमान गरिएको छ ।
हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुने र ९ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ ।
मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।
कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।
नेपालमा हाल करिब ५ सय प्रजातिको फूल रहेको भएपनि व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्रीवितरण हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा १ हजार व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij