Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस प्रवक्ता भन्छन्- स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक

कांग्रेस प्रवक्ता भन्छन्- स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक

  • 405
    SHARES
  • कांग्रेस प्रवक्ता भन्छन्- स्वतन्त्र बन्ने प्रवृत्ति मौलाउनु देशका लागि घातक

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताएका छन् । मुलुकको दिर्घकालीन विकासका लागि स्वतन्त्रप्रवृत्ति घातक सावित हुने उनले बताए ।

    नेपाल प्रेस युनियन कैलाली शाखाले आज नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रवक्ता महतले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।

    तर काठमाडौंकै मेयर बालेन्द्र साहले पनि अहिले काम गर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुन थालिसकेको उनको भनाइ छ ।

    उनले भने, ‘बोल्न सजिलो हुन्छ । काम गर्न गाह्राे हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ । मेयर साहले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन ।’

    उनले झुटा प्रचार गरेर स्वतन्त्रहरूले चुनाव जितेको आरोप लगाउँदै एकछिन प्रचार र विज्ञापन गरेर आउनेहरूबाट समस्याको समाधान ननिस्किँने बताए ।

    प्रवक्ता महतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताए । कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताए ।

    उनले भने, ‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघिबढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ ।’

    उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरि तयारीमा जुट्न आह्वान पनि गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरूलाई चलायमान बनाउनुपर्ने बताए । निर्वाचन नजिक आइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उनकाे भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij