काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट सोमबार पदमुक्त भएका अमिक शेरचनले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूलाई बिनाजानकारी पदबाट हटाइएको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिले कुनै जनकारी नै नआई आफूलाई बिनाकारण पदमुक्त गरेको शेरचनले पत्रकार सम्मेलनमा बताएका हुन् ।
उनले आफू पदमुक्त भएको जानकारी मिडियाबाट थाहा पाएको बताएका छन् । आफूमा पदलोलुपता नरहेको बताउँदै शेरचनले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को आग्रहमा प्रदेश प्रमुखको पद स्वीकार गरेको स्पष्ट पारे ।
प्रदेश प्रमुख रहँदासम्म कसैको दबाब र प्रभावमा नपरी संवैधानिक मूल्यमान्यताअनुसार काम गरेकाे उनले बताएका छन् । ‘पदमा रहँदासम्म म कसैको दबाब र प्रभावमा परिनँ, संविधानअनुसार नै काम गरेको छु,’ उनले भने, ‘यसरी काम गर्ने क्रममा कसैलाई समस्या परे संविधान हेरेर चित्त बुझाउन मेरो आग्रह छ ।’
अधिकारविहीन पदबाटमुक्त गरिदिएकोमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए । ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु । मुरी-मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology