अमेरिका । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा.विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ ।
मासाचुसेट्स राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा.परियार बारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए ।
विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’ मा डा.परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ ।
‘अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा.विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’ को माध्यमबाट पढाइने उक्त पाठमा डा.परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठवटा स्लाइडसमेत समावेश गरिएको छ,’ पत्रकार परियारले भने ।
सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा.परियारले जानकारी दिए ।
पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology