वेबटिभी खबर
बारा । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको घटनाको छानबिन गर्न थालिएको छ ।
वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिंग निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका-१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३-०२-०७९-००५१३ नंको नागरिकता लिएको देखिएको छ ।
उक्त घटनाबारे छानबिन थालिएको हो । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए ।
राईको जन्म मिति २०५८/११/१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९/०२/२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।
झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ-१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ ।
रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ ।
उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गरसमेत लेखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij