वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न क्षेत्रमा भएका पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उनले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गरेका छन् ।
सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिराेपीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
महेन्द्रकुमारी लिम्बूले प्रदेश-१ को खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गरिन् ।
सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी संघका नेताहरूमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाए ।
सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराए । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरूले बोलेका विषय कार्यान्वयन हुनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij