वेबटिभी खबर
काठमाडौं । मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन् ।
घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताए । उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताए ।
मृतकहरू बालबालिका तथा महिलासमेत रहेको बताएका छन् । शिनबौमले कारमा फसेका अन्य व्यक्तिहरू जिवितै रहेको वा मृत्यु भइसकेको अझै थाह हुन नसकेको उनले बताए ।
पुलको निर्माण गरेका नगरका पूर्व प्रमुख तथा विदेश मामिला मन्त्री मार्सेलो इबार्डले दुर्घटनालाई भयकंर त्रासदीपूर्ण घटना भन्दै यसको अनुसन्धान गरिनुपर्ने बताए ।
मेक्सिको सिटीको रेल सेवा संसारको सबैभन्दा ठूलो र व्यस्तमध्ये एक हो, आधा शताब्दी पहिले यसको उद्घाटन भएदेखि कम्तिमा दुई गम्भीर दुर्घटनाहरू भएका छन् ।
गत वर्षको मार्चमा, टाकुबाया स्टेशनमा दुई रेल बीचको टक्करमा एक यात्रीको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए ।
त्यस्तै सन् २०१४ मा ओसिनियामा समयमै नरोकिएको एउटा रेल स्टेशनमा अर्को रेलसँग जुध्दा अर्को दुर्घटनामा भएको थियो जसमा १२ जना घाइते भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij