वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण जारी निषेधाज्ञाको केही दिनमै निर्माणजन्य सामग्रीमा मूल्यवृद्धि भएको छ । निर्माण सामग्रीहरुमा पनि डण्डीको मूल्य अत्याधिक बढेको हो । व्यवसायीहरुका अनुसार निषेधाज्ञापछि निर्माण सामग्रीको मूल्य ३० प्रतिशत बढीले महँगो भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालका अनुसार निषेधाज्ञापछि निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘निषेधाज्ञापछि निर्माणजन्य सामग्रीको माग कम भएपनि सामग्रीको मूल्य भने अत्याधिक बढेको छ ।’
दाहालले भने, ‘सरकारले निषेधाज्ञा गर्नु अगाडि डण्डीको मूल्य ८०/८५ रुपैयाँ थियो, आजको दिनसम्म आइपुग्दा १ सय ७ रुपैयाँ पुगिसकेको छ, अझै बढ्छ भन्ने कुरा पनि आइरहेको छ ।’ निर्माण सामग्रीको कृतिम अभाव देखाएर सामग्रीको मूल्य बढाइएको दाहाले बताए ।
अहिले निर्माणजन्य अन्य धेरै सामग्रीको मूल्य पनि बढिरहेको अवस्थामा सिमेन्टको मूल्य पनि बढाउने तयारी गरिरहेको उनले बताए । यस्तै, ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि स्टिलसँगै अन्य निर्माण सामग्रीको मूल्य पनि बढेको बताए ।
व्यवसायीहरु भने सरकारले अनुगमन नगर्दा उद्योगीहरुले मनलाग्दी किसिमले मूल्यवृद्धि गरेको आरोप लगाइरहेको छन् ।
‘अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको भनेर मूल्य बढेका बताउँदै आएका छन्, मूल्य बढे पनि अन्तर्राष्ट्रिय रुपमै बढे अनुसार बढ्नुपर्छ,’ उनले भने, ‘नेपालमा त्यसको दुई तीन गुणा बढाइरहेका छन्, यस्तो परिस्थितिमा सबैले मिलेर एक अर्कालाई सहयोग गर्नुपर्ने अवस्थामा यसरी मूल्यवृद्धि गर्नु राम्रो होइन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij