Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

बाटो बिराउँदै सहकारी

बाटो बिराउँदै सहकारी

  • 197
    SHARES
  • बाटो बिराउँदै सहकारी

    २०१० सालमा कृषि मन्त्रालयअन्तर्गत सहकारी विभाग स्थापना भएपछि नेपालमा सहकारीको अवधारणाले प्रवेश पाएको थियो । २०१६ सालमा सहकारी ऐन जारी भएपछि २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको स्थापना भयो ।

    २०३३ सालमा सरकारले ‘साझा कार्यक्रम’ ल्यायो । त्यसैगरी २०३५ सालमा ‘साझा संस्था प्रशासन तथा आर्थिक नियम’ जारी गरियो । साझा केन्द्रीय कार्यालयलाई २०४८ सालमा ‘राष्ट्रिय सहकारी विकास बोर्ड’ मा परिणत गरियो । २०४८ सालमा सहकारी ऐन र २०५० सालमा सहकारी नियमावली २०४९ जारी भयाे । त्यसपछि राष्ट्रव्यापी रूपमा सहकारी संस्थाहरूको स्थापना हुने क्रम बढेको देखिन्छ ।

    २०६२/६३ सालको जनआन्दोलनपश्चात देशभर सहकारी खुल्नेक्रमले तीव्रता लियाे । सहकारीमार्फत उत्पादनसँग जोडिने क्रम पनि ह्वात्तै बढ्यो । बैंकले नपत्याउनेहरूको समस्या सहकारीको सदस्य बनेर दैनिक, साप्तहिक र मासिक बचत गरेकै आधारमा समाधान हुनथाले । त्यसपश्चात झन् सहकारीप्रतिको जनविश्वास ह्वात्तै बढ्यो र सदस्यहरूको वृद्धिको साथमा संस्थाहरूको वृद्धि रोकिएन ।

    नेपालमा सहकारी क्षेत्रको इतिहास पाँच दशकभन्दा लामो छ । लामो समयदेखि सहकारी संस्थानहरू सञ्चालनमा आएपनि यो क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन । नीतिगत तथा व्यवस्थापकीय समस्याहरू अझै विधमान छन् । २०१३ साल चैत २० गते नेपालमा पहिलो सहकारी संस्थाका रूपमा चितवनमा ‘बखान सहकारी’ को स्थापना भएको इतिहास छ तर नेपालका सहकारीको प्रभावकारी विकास भने २०४६ को परिवर्तनपछि मात्र भएको देखिन्छ ।

    विश्व इतिहासमा हेर्ने हो भने आधुनिक सहकारीको स्थापना १८औं शताब्दीमा नै भएको थियो । सन् १८४४ मा बेलायतको रोचडेलबाट औपचारिकरूपमा सुरु भएको सहकारी अभियान राजनीतिक, सामाजिक र आर्थिकरूपले विश्वव्यापीरूपमा स्थापित छ । जसमा विश्वका एक अर्बबढी नागरिक सहकारीमा संलग्न छन् ।

    १३ करोडले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । ग्रामीण र कृषि अर्थतन्त्रका लागि अत्यन्त उपयोगी मानिएको यो अभियान विशेषतः सीमान्तकृत समुदायको जीवन पद्धतिका रूपमा परिभाषित छ । विश्वमा निकै अघि आधुनिक सहकारीको विकास भएपनि त्यसको तुलनामा हेर्दा नेपालमा धेरैपछि मात्र सहकारीको विकास हुन पुगेको देखिन्छ । नेपालमा हाल सहकारी ऐन-२०४८ तथा सहकारी नियमावली-२०४९ को अनुशरण गर्दै देशभर बचत तथा ऋण र अन्य गरि संस्था खुलेका छन् ।

    सहकारी के हो ?

    सामान्य अर्थमा निश्चित उद्देश्य प्राप्तिका लागिका विभिन्न व्यक्तिहरू मिलेर गरिने कार्यलाई सहकारी भनिन्छ । विस्तृतमा सहकारीलाई प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै, सामूहिक रूपमा आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिको विचार बोकेका ज्ञान तथा सीप सिक्न चाहाना भएका र समाजिक एवम् सांस्कृतिक रूपमा समाज परिवर्तन गर्ने भावना बोकेका आम नागरिकहरूद्वारा वैधानिक रूपमा सञ्चालन गरिएको संस्थालाई सहकारी भनिएको छ । विद्वान हेनरी क्यालभर्टले समान आर्थिक चाहनाको प्रवर्द्धनका लागि व्यक्तिहरू स्वैच्छिक रूपमा मानवीय हिसाबले एक आपसमा सम्बन्धित भएको संगठनलाई नै सहकारी मानेका छन् ।

    सहकारी संस्थाले आफ्ना सदस्यहरूमा बचत गर्ने बानीको विकास गराई सदस्यहरूबीच कर्जा प्रवाह गर्दै सामुहिक लगानीका आधार निर्माण गर्ने गर्दछ । त्यसैगरी आफ्नो संस्थामा आवद्ध सदस्यहरूबीच सहकार्य, एकता, ज्ञान तथा सीप अनुभव आदिको आदान प्रदानगरी सदस्यहरूलाई समान आर्थिक अवसर प्रदान गर्दै, विभिन्न ज्ञानसीप तथा तालिमको माध्यमद्वारा आपसी फाइदा र सुविधाको लागिसमेत काम गर्ने गर्दछ । जसका केही मूल्य र मान्यताहरू छन् ।

    अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको सात सिद्धान्तहरूमा स्वैच्छिक तथा खुल्ला सदस्यता,सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी संस्थाहरूबीच सहयोग, समुदायप्रति चासो र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका हुन् ।

    छरिएर रहेको पुँजीलाई एकितृत गरि उत्पादनमुलक क्षेत्रमा लगाउने काम सहकारीले गर्दछ । त्यतिमात्र होईन । छरिएर रहेका सीप र ज्ञानलाई समेत एकिकृत गरि समूहमा ल्याई समूहका सबै सदस्यलाई सिकाई आत्मनिर्भर बनाउने काम पनि तिनै सहकारीले गर्दछन् । निजी क्षेत्रको पँहुच पुर्याउन कठिन भइरहेको क्षेत्रमा सहज ढंगले आम नागरीकहलाई संगठित गरि मानव शक्तिको उपयोग आर्थिक क्रियाकलापमा आकर्षित गर्ने एक मात्र माध्यम नै सहकारी हो ।

    वर्तमान समयमा सहकारीले आफ्ना सदस्यहरूको सर्वांगीण विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सुरक्षित भविष्यको लागि बचत गर्ने बानिको विकास तिनै सहकारी संस्थानहरूले गराएका हुन् । घर तथा कार्यलयमै गएर बचत गराउने भएको कारण पनि पछिल्लो समय सहकारी प्रति आम जनताको चासो बढेर गएको छ । सहकारीको स्थापना क्रम बढेर आम जनताको पहुँच सहकारी संस्थासम्म पुगेसँगै उनीहरूको आर्थिक हैसियत क्रमिक रूपमा सुधार भएकोसमेत हामीले अनुभव गर्दै आएका छौँ ।

    सहकारी क्षेत्रको विकासअघि अर्थात दुई दशकअघि सम्मको कुरा गर्ने हो भने दूरदराजका जनताहरू सामन्तिहरूबाट पीडित थिए । १० हजार ऋण लिदा साहुलाई घरबार सुम्पिएर सुकुम्बासी बन्नु परेका कयौं उदाहरण छन् । तर सहकारी संस्थानहरूको विकास भएसँगै अहिले सामान्य जनताको आर्थिक अवस्थामा अकल्पनीय परिवर्तन भएको छ । सहकारी संस्थाहरूकै विकासका कारण आज देशबाट नै सामन्तवादको समेत अन्त्य भैसकेको छ ।

    बचत गर्ने बानिको विकासले गर्दा सामान्य नागरिकको आर्थिक हैसियतमा समेत ठुलो परिवर्तन आएको छ । हिजो हजार रूपैयाँको लागि एउटा तमसुकमा औंठाछाप लगाउनुपर्ने बाध्यताबाट गुज्रिएका नागरिकहरू आज सहकारीमा बचत गर्ने बानिकै कारण लाखका बिटो अरूलाई सापटी दिनसक्ने भएका छन् ।

    व्यक्तिहरू समूहमा सम्मिलित भैसकेपछि उनीहरू आपसमा भावनात्मक रूपमा गाँसिन पुग्छन् र आर्थिक रूपमा मात्र नभएर सामाजिक र सांस्कृतिक समस्याहरू पनि सामाजिक रूपमै समाधान गर्न तीर लाग्छन् । आफ्ना पुर्खाले मान्दै आएको धर्म र संस्कृतिलाई जोगाई राख्नु मानिसको कर्तव्य पनि हो ।

    तिनै संस्कृतिलाई जोगाइराख्न पनि सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सामाजिक रूपमा मनाइने विभिन्न चार्डपर्व तथा विभिन्न संस्थाले विभिन्न चार्डपर्वको अवसरमा गर्ने तीज विशेष कार्यक्रम, फागुपूर्णिमा, तिहारमा खेलिने देउँसी भैलो कार्यक्रममा पनि कुनै न कुनै रूपमा सहकारीको सम्बन्ध गाँसिन पुगेको देखिन्छ । यस हिसाबमा पनि सहकारीको माध्यमबाट सांस्कृतिक विकास भएको मान्न सकिन्छ ।

    मानिस स्वभावैले सामाजिक प्राणी हो । कुनै पनि मानिस समाज बिना रहन सक्दैन । समाजमा रहेपछि उसले समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

    समाजबिना मानिस एक्लैले कुनै पनि कार्य गर्न सम्भव हुँदैन । त्यसको लागि पनि सहकार्यको आवश्यकता नै पर्दछ ।  समाजको सबै क्षेत्रमा सहकारीको कुनै न कुनै स्वरूप भेटिन्छन् । सहकारीकै माध्यमबाट सामाजिक, आर्थिक र सांस्कृतिक विकाससमेत भएको छ । बिबाह, ब्रतबन्ध, पास्नी, पर्म जस्ता कार्यमा सरिक हुनु पनि परम्परागत सहकारीकै नमूना हो ।

    वर्तमान समयमा मानिसहरूले सहकारी भन्नेबित्तिकै आर्थिक कारोबार गर्ने संस्था भनेर बुझ्न थालेका छन् । अहिले देशभर च्याउसरी सहकारी संस्थाहरू उम्रिएका छन् । पर्याप्त ज्ञान र पूर्वाधारबिना खोलिएका केही सहकारीले गुणात्मक रूपमा सेवा दिन सकिरहेका छैनन् ।

    सहकारी क्षेत्रमा नीतिगत तथा व्यवस्थापकीय समस्याहरू विद्यमान छन् । सहकारीलाई कतिपयले कमाईखाने भाँडोसमेत बनाएका छन् । अझ भनौं कतिपयले ‘सहकारी’ शब्दलाई जनता लुट्ने माध्यमको रूपमा उपयोग गरिरहेको अवस्था छ । पछिल्लो समय सहकारीको विकास क्रमसँगै विवादित र बदनाम भइरहेको छ । सहकारीका संचालकहरू जनताको अर्बौं रूपैयाँ लिएर फरार भएका घटनाहरू संचारमाध्यम मार्फत सुनिन थालेका छन् भने सरकार मुकदर्शक बनेर बसिरहेको छ ।

    सहकारीको नाम लिएर पैसा उठाउने तर फिर्ता नगर्ने परिपाटीले पछिल्लो समय साँच्चै सदस्यहरू मारमा परेका छन् । जथाभावी दर्ता दिने तर फितलो नियमनको कारण पनि पछिल्लो समय याे क्षेत्र बदनाम भइरहेकाे छ । अनुगमनको कमी, चरम राजनितिकरणको कारण सहकारी क्षेत्र बदनाम भैरहेको छ ।

    सहकारीकै माध्यमबाट आमजनताको आर्थिक अवस्थामा पनि निकै सुधार आएको हामीले अनुभव गर्न थालेका छौं । ग्रामीण भेगका जनताको आर्थिक अवस्था सुधारको मार्गदर्शक नै सहकारी हो ।त्यसैले पनि सम्बन्धित निकायले सहकारीको नाममा लुट मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्यो ।

    ग्रामीण क्षेत्रमा सहकारी खोल्न सरकारले पनि विशेष नीति ल्याएर प्रोत्साहन गर्नुपर्यो । जसको माध्यमबाट जनताले आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक विकास सरल रूपमा गर्न सकुन् । तसर्थ सहकारीबाट सबैले फाईदा लिन सबै सहकारीका सदस्य र अभियन्ता मिलेर सहकारी र सहकारी अभियान जोगाउन जरूरी भैसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology