वेबटिभी खबर
टीकापुर । कैलालीकी मुना साउदलाई एक्कासि सुत्केरी व्यथाले च्याप्यो । सुत्केरी व्यथाले चापेपछि मुनाका श्रीमानले नजिकैको स्वास्थ्य चौकीमा लगे ।
स्वास्थ्य चौकीले मुनालाई स्वास्थ्यमा थप जटिलता हुनसक्ने भन्दै नेपालगञ्ज जान सल्लाह दियो । मुनाका श्रीमानले जसोतसो एम्बुलेन्स खोजेर रकमको जोहो गरी कोहलपुर पुर्याए । कोहलपुर मेडिकल कलेजमा मुनाको सामान्य अवस्थामै बच्चा जन्मियो ।
रकमलगायत आवश्यक सामानको पूर्व तयारी नभएका कारण उनका श्रीमानलाई कोहलपुरमा सुत्केरी र बच्चाका लागि आवश्यक लुगा कपडा, खानेकुराको जोहो गर्न समस्या भयो ।
‘मैले श्रीमती सुत्केरी हुनुपूर्व तयारी गरेको थिएन, एक्कासि व्यथाले च्यापेपछि आर्थिक जोहो गर्नतिर लागें’, हेमन्त साउदले भने, ‘जसका कारण लुगा कपडा र अन्य सामान लगिएन, त्यसले समस्या भयो, खर्च पनि बढ्यो ।’
जोशीपुरका विन्दास चौधरीकी श्रीमतीलाई पनि व्यथाले च्याप्यो । पहिलो सन्तान पाउने तयारीमा रहेकी श्रीमतीलाई उनले अस्पताल लगे । अस्पतालले पेटमा बच्चा हुँदा रक्तअल्पता भएको र शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्ने भएकाले रगतको जोहो गर्न भन्यो ।
‘अस्पतालमा एक्लै लिएर आए, रगतको जोहो गर्न रेडक्रस दौडिए, ओ पोजेटिभ रगत चाहिने भएपछि अलि कठिन भयो’, विन्दासले भने, ‘घरमा गर्भवती भएका परिवारले सुत्केरी हुँदा आवश्यक पर्ने रगत, आर्थिक जोहो, लुगाकपडा, खानेकुराको तयारी गरेर बस्नुपर्ने रहेछ भन्ने थाह पाएँ ।’
टीकापुरकी बन्दना जैसीले भने आफ्नो सुत्केरी हुने समय नजिकिनु पूर्व आवश्यक सबै तयारी पूरा गरेकी थिइन् । त्यसले जैसीलाई सजिलो भयो ।
‘मैले अस्पतालले दिएको समयभन्दा एक साता अगाडिदेखि सबै तयारी गरेकी थिएँ, मेरो र बच्चाका लागि आवश्यक लुगा, रकम, रगत चाहिन सक्छ भनी रेडक्रससँग समन्वय गरेका थियौं’, जैसीले भनिन् ।
‘समयअगावै एम्बुलेन्सको फोन नं टिपेर राखेको थिएँ, मलाई व्यथा लाग्ने बित्तिकै नन्दले एम्बुलेन्स बोलाउनुभयो, जसले सहज भयो ।’ अर्की नौ महिने गर्भवती बिमला सार्की पनि सचेत छिन् ।
बिमलाको सुत्केरी हुने समय नजिकिएको छ । बिमलाका श्रीमान् विदेशमा भएपनि परिवारका सदस्यले बिमलाको स्याहार र सुत्केरीका समयमा आवश्यक तयारी गरिसकेका छन्।
‘देउरानी सुत्केरी हुने समय नजिकिएको छ, देवर विदेशमा हुनुहुन्छ, हामीले उनको राम्रो स्याहार गरेका छौं’, बिमलाकी जेठानी गीता सार्कीले भनिन्, ‘उनलाई मानसिक तनाव नहोस् भनि खुसी राखेका छौं, आवश्यक तयारी सबै गरेका छौं, परिवारका सदस्यमा रगत समूह मिलेकालाई पनि तयारी अवस्थामा राखेका छौँ ।’
गर्भावस्था तथा सुत्केरीपछि विभिन्न समस्या आउन सक्छन् । लापरबाही गरेमा महिला र बच्चाको ज्यान जोखिममा पर्न सक्छ । टीकापुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा.सञ्जयकुमार दास गर्भावस्था विशेष समय भएकाले डाक्टरको परामर्शअनुसार तयारी गर्नुपर्ने बताउछन् ।
‘यो अवस्थामा गर्नुपर्ने परीक्षण, सुत्केरी समयबारे सचेत हुनुपर्छ’, डाक्टर दासले भने, ‘आवश्यक सामान तयारीसँगै सुत्केरी समयमा आमा र बच्चालाई जुनसुकै बेला समस्या हुनसक्ने भएकाले सचेत रहने, नजिकको स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij