वेबटिभी खबर
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, ब्यारेक, मेश र क्वाटर गार्ड भवनको उद्घाटन गरेका छन् । बुधबार आयोजित कार्यक्रमबीच उनले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीको लागि आवास भवन आधारभूत आवश्यकता रहेको बताए ।
आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला दिने विश्वास उनले व्यक्त गरे ।
नवनिर्मित भवन सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीलाई उनले आग्रह गरेका थिए ।
प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी गरि तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन समेत उनले प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
मानवअधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरि भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास उनले व्यक्त गरे ।
‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिति अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरि विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारबाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ,’ उनले भने ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक इन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवन नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij