वेबटिभी खबर
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका-१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा आउन नसेको हो ।
करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिम पूर्णरूपमा खोला तर्न बाध्य छन् । सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिरोले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न नपाएको स्थानीय खडक विष्टले बताए ।
पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ । उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरूपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ ।
जयपृथ्वी नगरपालिका-३ पडेससँग प्रत्येक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ । जोखिम मोलेर खोला तर्दा दिनहुँ आफूहरूलाई समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनम विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले जानकारी दिए ।
उनले भने, ‘भण्डार गाउँबाट हामी करिब ४० जना पढ्नका लागि खोला तरेर जान्छौं । बर्खाको दुई, तीन महिना त हामीलाई साह्रै अप्ठ्यारो हुन्छ ।’ बिहान विद्यालय जाने समय र बेलुका विद्यालयबाट आउने बेलामा खोला तार्न एक जनाले दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्टले बताए ।
वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको जानकारी दिए । स्थानीयले आफू कहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij