Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

भत्किएको नाला तत्काल बनाउन मुख्यमन्त्री शाहीकाे निर्देशन

भत्किएको नाला तत्काल बनाउन मुख्यमन्त्री शाहीकाे निर्देशन

  • 81
    SHARES
  • भत्किएको नाला तत्काल बनाउन मुख्यमन्त्री शाहीकाे निर्देशन

    काठमाडौं । काम सम्पन्न नहुँदै नाला भत्किएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माण जिम्मा लिएकाे कम्पनीलाई तत्काल बनाउन निर्देशन दिएका छन् ।

    शुक्रबार मुख्यमन्त्री शाही र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नाला निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । 

    सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१२ मा निर्माणधीन उक्त नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना भइरहेकाे छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।

    हटलाइन सडकअन्तर्गत नगरपालिकाकाे औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब पाँच सय मिटरमध्ये ५० मिटरबढी नाला १८ साउनमा ठेकेदार र प्राविधिकको लापरबाहीले भत्किएको स्थानीयहरूकाे भनाइ छ ।

    तर निर्माण कम्पनी र सम्बन्धित कार्यालयले अविरल वर्षाले नाला भत्किएको जनाएकाे छ । नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।

    शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई गुणस्तर देखिने गरि निर्माण कार्य सम्पन्न गर्न मुख्यमन्त्री र मन्त्रीले निर्देशन दिएका छन् । नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमी कमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

    नाला निरीक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकोले नाला भत्किन पुगेको बताए ।

    तर निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण र सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्वीकारेका छन् ।

    आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०.५ मिटर स्टिमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबाबमा सडक लेवलमा (स्टिमेटभन्दा बाहिर गएर) नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।

    उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब एक करोड लागतमा विध्या एन्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो ।

    गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।

    nala2.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology