वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्व.श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरि चुनावको तयारीमा लाग्न कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन आग्रह गरे ।
कांग्रेसका युवानेता गुरुराज घिमिरेले प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताए ।
उनले जापान, सिङ्गापुर, दुबईलगायत विभिन्न देशले १२ देखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउँदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्नेबाहेक केही गर्न नसकेको आरोप लगाए ।
नेता घिमिरेले भने, ‘२०४६ सालपछि जनताले यो मुलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएकामा यो ३२ वर्ष निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरि सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरि निर्वाचन गर्नेजस्तो चक्रिय फेरबदलबाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनुपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij